घट्यो सेयर बजार, अनुकूल नीतिले किन पारेन प्रभाव ?
१२ जेठ, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ५.२१ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से परिसूचक २६७४ मा कायम भएको छ ।
अघिल्लो दिन मात्रै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षाले सबै किसिमका सेयर कर्जाको जोखिमभार १२५ प्रतिशतबाट १०० मा झारेको छ । यो नीति बजार अनुकूल रहे पनि लगानीकर्ताको मनोबल भने बढ्न सकेन ।
मुख्यतः बजेट घोषणा हुने दिन नजिकिँदै गर्दा लगानीकर्ता पूँजीगत लाभकरप्रति सशंकित भएका छन् । बजेटमार्फत पूँजीगत लाभकर बढ्न सक्ने अनुमान छ । यसले गर्दा बजारले गति लिन सकिरहेको छैन ।
बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ६० करोडको कारोबार भएकोमा आज ७ अर्ब ५८ करोडको भयो । ९२ कम्पनीको मूल्य बढ्दा १५५ को घट्यो ।
बैंकिङ ०.१७ र उत्पादन तथा प्रशोधन समूह ०.७९ प्रतिशत बढे । यी दुई बाहेक सबै सेक्टर घटे । विकास बैंक ०.२७, फाइनान्स ०.१२, होटल तथा पर्यटन ०.९१, हाइड्रोपावर ०.०६, लगानी ०.१५, जीवन बीमा ०.२०, माइक्रोफाइनान्स १.५०, अन्य ०.४८ तथा निर्जीवन बीमा ०.३२ प्रतिशत घटे ।
ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत बढ्यो । उपकार लघुवित्तको ६.१९, उन्नति सहकार्य लघुवित्तको ४.३१ प्रतिशत मूल्य बढ्यो । गुराँस लघुवित्तको मूल्य १० प्रतिशत घट्यो ।
बाराही हाइड्रोपावरको ९.८५ तथा अभियान लघुवित्तको मूल्य ३.९२ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा राधि विद्युत्, ङादी ग्रुप, युनिभर्सल पावर, कुमारी बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।