शरीरले पोषक तत्त्व सोस्ने प्रक्रियामा कफीको प्रभाव, निश्चित समूहहरू सतर्क हुनुपर्ने
जुलिआ ग्रान्ची, बीबीसी
२१ वैशाख, काठमाडौं । ब्रजिल यदि खाना सँगसँगै वा खाना खानेबित्तिकै कफी पिउनुहुँदैन भनेर कसैले तपाईँलाई भनेको छ भने त्यसमा केही सत्यता हुन सक्छ।
कफीमा १,००० भन्दा बढी किसिमका रासायनिक यौगिक हुन्छन्। तीमध्ये क्याफीन, पोलिफेनल र ट्यानिनलगायत रसायनले तपाईँले खाएका खानामा हुने पोषक तत्त्व शरीरमा सोसिने प्रक्रियामा बाधा पुर्याउन सक्छन्।
राम्रो खबर चाहिँ के हो भने धेरैजसो मानिसमा त्यसले पार्ने प्रभाव असाध्यै न्यून हुन्छ र पोषक तत्त्वको कमी हुने अवस्था नआउन पनि सक्छ।
हाम्रो खाना र पिउने पदार्थमा पाइने पोषक तत्त्वले हाम्रो शरीरका महत्त्वपूर्ण कार्यमा भूमिका खेल्छन्। स्वस्थ रहन हामीलाई विभिन्न प्रकारका पोषक तत्त्व चाहिन्छन्।
यूनिभर्सिटी कलेज लन्डनमा पोषण विज्ञान विषयमा विद्यावारिधि अध्ययनरत अनुसन्धानकर्ता तथा द हेल्थ साइन्स अक्याडमीमा प्रमुख विज्ञान शिक्षक एलेक्स रुआनी भन्छन्, “कफीले पोषक तत्त्व सोस्ने काम पूर्ण रूपमा रोक्न त रोक्दैन – सोस्ने काम कम गराउन भने सक्छ। “
त्यसको असरचाहिँ कफी कति गाढा छ र पोषणका लागि खाइएको खाना के हो भन्नेमा भर पर्छ। त्यसै गरी उमेर, शरीरको मेटाबोलिजम र स्वास्थ्य अवस्था तथा जेनेटिक्सले पनि भूमिका खेल्छन्।
हामीले यहाँ कुरा गर्न खोजेका पोषक तत्त्वहरू क्याल्सिअम, आइरन र ‘बी’ भिटमिनहरू हुन्।
यदि तपाईँको शरीरमा “पोषक तत्त्वको कुनै कमी छैन भने चिन्ता गर्नुपर्दैन तर पहिले नै पोषक तत्त्वको कमी छ भने त्यस्ता मानिसले कफी धेरै पिएमा त्यस्ता तत्त्वको कमी झन् चर्को बन्न जान सक्छ,” लिनस पलिङ इन्स्टिट्यूटकी निर्देशक तथा ओरेगन स्टेट विश्वविद्यालयमा कलेज अफ हेल्थकी निर्देशक एमिली हो भन्छिन्।
को क्यापुचीनोबारे सावधान हुनुपर्छ?

सन् १९८० देखिका अध्ययनहरूले कफीलाई आइरन कम सोसिने अवस्थासँग जोड्ने गरेका छन्।
“तपाईँले खानाका साथ कफी पिउँदा कफीमा भएको पोलिफेनल तपाईँको पाचन प्रणालीमा भएका खनिजसँग टाँसिन पुग्छन्,” हो भन्छिन्।
यसरी जोडिन पुग्दा तपाईँको शरीरले आइरन सोसेर लिन गाह्रो हुन सक्छ किनभने त्यस्ता खनिजहरूले आन्द्राको कोष हुँदै रक्त प्रवाहमा प्रवेश गर्नुपर्ने हुन्छ। त्यसैले यदि त्यस्ता खनिज पोलिफेनलसँग जोडिन पुगे भने तिनलाई सोस्न मुस्किल हुन्छ त्यसैले ती मलमूत्रमार्फत् शरीरबाहिर फ्याँकिन पुग्छन्।
यो खास गरी वनस्पतिजन्य खानाबाट पाइने आइरनको सन्दर्भमा बढी महत्त्वपूर्ण छ। फलफूल र तरकारीबाट पाइने यस्तो आइरन शरीरले सोस्न मुस्किल मान्छन्।
कफीमा भएको पोलिफेनोलहरू विशेषगरी क्लोरोजेनिक एसिड यस्तो खालको आइरनमा टाँसिन पुग्छ जसले गर्दा आइरन शरीरमा सोसिन र रक्त प्रवाहमा जान सक्दैन। परिणामस्वरूप आइरनहरू यस्ता यौगिकसँग टाँसिन पुग्छन् र पाचन प्रणालीतर्फ लाग्छन्। अनि शरीरले उपयोग गर्नुको बदला मलमूत्रमार्फत् बाहिरिन्छन्।
त्यसैले आइरनको कमी हुने रक्ताल्पता भएका व्यक्तिले आइरन धेरै भएका खानेकुरा सँगसँगै कफी पनि पिउनमा सावधानी अपनाउनु पर्छ।
एलेक्स रुआनी भन्छन्, “आइरनयुक्त खाना खानुभन्दा करिब एक घण्टा अघि नै वा खाना खाएको केही घण्टापछि मात्रै कफी पिउनु राम्रो हुन्छ।”
महिनावारी भएका बेला वा गर्भवती महिलाले खासगरी यसरी आफ्नो शरीरमा आइरन मात्राबारे ध्यान पुर्याइराख्नुपर्ने हुन्छ।
त्यस्तो अवस्थामा उनीहरूलाई आइरन अलि बढी चाहिएको हुन्छ र उनीहरूमा आइरन कम हुने सम्भावना पनि बढी हुने भएकाले कफी खानेबारे सावधान हुनुपर्छ।

क्याल्सिअम
क्याल्सिअम हाम्रो हड्डीको स्वास्थ्यका लागि अति आवश्यक छ। तर यूकेमा १६ देखि ४९ वर्षका मानिसहरूमध्ये नौ प्रतिशतले आफ्नो खानामार्फत् प्राप्त हुने क्याल्सिअमका लागि आवश्यक प्रकारको खाना खाँदैनन्। यस्तो अवस्थाले उनीहरू पछि उमेर बढ्दै जाँदा हड्डी कमजोर हुने खतरामा पर्छन्।
हाम्रा मिर्गौलाले नचाहिने पदार्थ र बढी भएको पानी रगतबाट पिसाबका रूपमा बाहिर निकाल्छन्। मिर्गौलाले नै सोडिअम, पोटासिअम र क्याल्सिअम जस्ता पदार्थ छानेर राख्छ। तिनले होर्मोन पनि बनाउँछन्।
अध्ययनहरूले सुझाएका छन् कि कफीले मिर्गौलामा क्याल्सिअम छान्ने काममा या आन्द्रामा सोसिने क्रियामा पनि समस्या निम्त्याएको हुन सक्छ।
यस्तो प्रभाव क्याल्सिअम कम भएका खाना खाने वा हड्डीसम्बन्धी स्वास्थ्य समस्या भएकाहरूका लागि अझ गम्भीर हुन सक्छ।
जर्नलमा छापिएको एउटा चर्चित अध्ययनमा ओस्टिओपरोसिस इन्टर्न्याश्नलले हड्डीको मेटाबोलिजममा क्याफीनले प्रभाव पार्न सक्छ भनिएको छ। तर ओस्टिओपरोसिसको खतरामामा क्याफिनको प्रभावबारे थप जानकारी खोज्नु आवश्यक छ।
क्याल्सिअम शरीरमा भण्डारण हुन्छ त्यसैले दैनिक आवश्यक मात्रा प्राप्त गर्न दैनिक रूपमा नै क्याल्सिअमयुक्त खाना खान जरुरी छैन। तर १९ देखि ६४ वर्षका मानिसहरूले औसतमा करिब ७०० मिलिग्राम क्याल्सिअम प्रतिदिन प्राप्त गरेको हुनुपर्छ।
क्याफीनले पिसाब धेरै पटक जानुपर्ने अवस्था पनि बनाउँछ भन्ने थाहा पाउन जरुरी छ।
“यसले गर्दा पानीमा घुल्ने ‘बी’ भिटमिन लगायतका तथा आइरन र क्याल्सिअमजस्ता खनिज पदार्थ शरीर बाहिर फ्याँकिन पुग्छन्,” हो भन्छिन्।
‘बी’ भिटमिनहरू

रुआनी भन्छन्, “कफीले मिर्गौलाको काममा र पोषक तत्त्वको मेटाबोलिजममा प्रभाव पार्ने भएकाले धेरै (चार कपभन्दा बढी) कफी पिउँदा धेरै पटक पिसाब आउँछ र त्यसै कारण पानीमा घुल्ने भिटमिनहरू शरीरबाहिर पुग्छन्।”
‘बी’ भिटमिनहरू पानीमा घुल्छन् त्यसैले ती शरीरमा जम्मा भएर बस्दैनन्। बढी भएको भिटमिन बी पिसाबबाट बाहिरिन्छ।
‘प्रोबायोटिक’हरू

‘प्रोबायोटिक’ भनेका शरीरभित्र हुने जीवित ब्याक्टेरिया हुन्। यिनले स्वास्थ्यमा फाइदा गर्छन् भनेर प्रचार गरिएको छ।
तिनले तपाईँको पेटमा हुने प्राकृतिक ब्याक्टेरियाको सन्तुलन कायम गर्न सहयोग गर्ने यूकेको स्वास्थ्यसम्बन्धी निकाय एनएचएसको वेबसाइटमा लेखिएको छ। तर तिनबारे लेखिएका दाबी सही साबित गर्न कम मात्र प्रमाण छन्।
तर तपाईँ प्रोबायोटिकका पोषणपूरक सामग्री (सप्लिमन्ट) वा दही र किम्चीजस्ता खानेकुरा खान चाहनुहुन्छ भने तिनलाई कफीसँग नखानु नै राम्रो हुन्छ।
“प्रोबायोटिकमा हुने जीवित ब्याक्टेरिया तापक्रमप्रति अति संवेदनशील हुन्छन्, त्यसैले कफीमा भएको उच्च तापक्रमले पेटमा उनीहरूको बाँच्ने दर कम बनाइदिन सक्छ, जसले गर्दा प्रोबायोटिकको प्रभाव कमजोर हुन पुग्छ,” रुआनी भन्छन्।
कहिलेकाहीँ एन्टिबायोटिक औषधि खाइरहेका कारण हुने पखाला रोक्न डाक्टरहरूले प्रोबायोटिक खान भनेका छन् भने र तपाईँले कफी खानुभएको छ भने कम्तीमा आधा घण्टादेखि एक घण्टा कुरेर खाँदा उच्चतम फाइदा पाउन सकिन्छ।
के कफीको बदला चिया पिउनु राम्रो हो?
यदि तपाईँले कफीको बदला चिया पिउने भन्नेबारे सोचिरहनुभएको छ भने चिया खाँदा पनि कफी खाँदाजस्तै समस्या हुन्छ भन्ने थाहा पाउनुपर्छ।
हो सचेत गराउँछिन्, “खासमा पोषs तत्त्वको सवालमा चियामा पाइने पोलिफेनलले पनि कफीमा पाउने पोलिफेनलकै जस्तो काम गर्छन्। यदि तपाईँ पोषक तत्त्व सोसिने प्रक्रियाप्रति गम्भीर हुनुहुन्छ भने तपाईँले चिया पिउने समयबारे पनि ध्यान दिनुपर्ने हुन्छ।