कमलादीमा ग्लोबल आईएमई बैंकको ईभी चार्जिङ स्टेसन
२२ जेठ, काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा विद्युतीय सवारी साधन (ईभी) चार्ज गर्न चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । बैंकको आफ्नो कर्पोरेट कार्यालय कमलादीमा उक्त चार्जिङ स्टेसन स्थापना गरेको हो ।
बिहीबार आयोजित एक कार्यक्रमबीच बैंकका सञ्चालक कृष्णप्रसाद शर्मा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्ज प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले संयुक्त रूपम चार्जिङ स्टेसनको उद्घाटन गरेका हुन् ।
गाडी चार्ज प्रालिसँगको सहकार्यमा बैंकले स्थापना गरेको सीसीटू सिंगल गनको ४० किलोवाट क्षमता रहेको छ ।
चार्जिङ स्टेसनमा बैंकमा सेवा लिन आउने ग्राहक र बैंकका कर्मचारीहरूलाई गाडी चार्ज गर्न व्यवस्था गरिएको छ ।
पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोगकर्ता बढेसँगै बैंकमा आउने ग्राहकको सवारी साधनलाई लक्षित गरी बैंकले चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो ।
कार्यक्रममा बैंकका सञ्चालक शर्माले बैंकले आफ्नो ग्राहकको सुविधालाई मध्यनजर गरी वातावरण अनुकूल ईभी सवारी साधनको प्रवर्द्धनका लागि एक पहलको रूपमा चार्जिङ स्टेसनको स्थापना गरेको बताए ।
साथै, बैंकले आफ्नो व्यवसाय विस्तारसँगै वातावरणमैत्री उपायहरू अवलम्बन गरिरहेको समेत उनले उल्लेख गरे ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्लोबल आईएमई बैंक वातावरण संरक्षण र उत्तरदायी बैंकप्रति प्रतिबद्ध रहेको बताए ।
विश्व वातावरण दिवसको अवसरमा १८ हजार विरुवा रोप्ने लक्ष्य रहेको भन्दै उनले वातावरण मैत्री उत्पादन ल्याएर वातावरण संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरणमा काम गरिरहेको बताए ।
उनले ग्लोबल आईएमई बैंकले सञ्चालन गरेको ईभी चार्जिङ स्टेसन अन्य बैंक तथा वित्तीय संस्थाहरूले समेत अवलम्बन गर्ने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा बैंकका उच्च पदस्थ कर्मचारी र गाडी चार्ज प्रालिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।