International 

चीन–अमेरिका व्यापार युद्धमा अप्रत्याशित ब्रेकथ्रु, नयाँ भन्सार दर कति ?

२९ वैशाख, काठमाडौँ । चीन र अमेरिका बीच लामो समयदेखि चलिरहेको व्यापार युद्धमा अप्रत्याशित रुपमा ब्रेकथ्रु आएको छ । दुवै मुलुकले एकअर्काका सामानहरूमा लगाउँदै आएको उच्च भन्सार महसुल ९० दिनका लागि घटाउने सहमति गरेका छन् ।

स्विट्जरल्याण्डको जेनेभामा भएको घण्टौं लामो व्यापार वार्तापछि सोमबार सार्वजनिक गरिएको संयुक्त वक्तव्यका अनुसार, दुवै देशले आफ्नो व्यापारिक सम्बन्धलाई दीर्घकालीन, दिगो र पारस्परिक रूपमा लाभदायक बनाउने प्रतिबद्धता समेत जनाएका छन् ।

जेनेभामा भएको सहमति अनुसार, अमेरिकाले चिनियाँ सामानमा लगाउँदै आएको कुल १४५ प्रतिशत महसुललाई ३० प्रतिशतमा झार्नेछ भने चीनले अमेरिकी सामानमा लगाउँदै आएको १२५ प्रतिशत महसुललाई १० प्रतिशतमा झार्नेछ ।

मे १४ तारिख देखि नयाँ भन्सार नीति लागू हुने वक्तव्यमा उल्लेख छ । यद्यपि, अमेरिकाले फेब्रुअरी र मार्चमा चीनमाथि लगाएको २० प्रतिशत फेन्टानिलसम्बन्धी महसुल भने कायमै रहनेछ ।

विश्वका दुई ठूला अर्थतन्त्रहरूबीचको यो सहमति पछि विश्व बजारमा आशावादी बनेको छ । एशियाली व्यापार समयमा अमेरिकी शेयर बजारका सूचकहरू उकालो लागेका छन् । डाउ फ्युचर्स २ प्रतिशत, एसएण्डपी ५०० फ्युचर्स झण्डै ३ प्रतिशत र प्रविधिमुखी नास्डाक कम्पोजिट फ्युचर्स ३.५ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । हङकङको ह्याङ सेङ इन्डेक्स पनि ३ प्रतिशतभन्दा बढीले बढेको छ ।

यस सहमतिसँगै दुवै देशले आपसी आर्थिक तथा व्यापारिक सम्बन्धबारे छलफललाई निरन्तरता दिन विशेष संयन्त्र स्थापना गर्ने सहमति गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो संयन्त्र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङ, अमेरिकी अर्थ सचिव स्कट बेशेन्ट र अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरको नेतृत्वमा रहनेछ ।

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी अर्थ सचिव बेशेन्टले भने, “उच्च महसुलका कारण दुवै देशमा नाकाबन्दीको जस्तो अवस्था सिर्जना भएको थियो । जुन दुवै मुलुकलाई स्वीकार्य छैन । हामी व्यापार गर्न चाहन्छौं, सन्तुलित व्यापार चाहन्छौं र त्यसका लागि प्रतिबद्ध छौं।”

Related posts

Leave a Comment