एनएमबि बैंकको अगुवाइमा २ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
२९ वैशाख, काठमाडौँ । एनएमबि बैंक लिमिटेडको अगुवाइमा दोलखा जिल्लास्थित ४२ मेगावाट क्षमताको लाप्चे तामाकोशी जलविद्युत आयोजना तथा २ मेगावाट क्षमताको चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन प्रक्रिया सम्पन्न भएको छ । आयोजनाहरूमा करिब ७ अर्ब ४३ करोडको लगानी हुने जानकारी गराइएको छ ।
लाप्चे तामाकोशी जलविद्युत आयोजना दोलखा जिल्लाको विगु गाउँपालिकामा अवस्थित छ । आयोजनाको अनुमानित लागत करिब ७ अर्ब रूपैयाँ रहनेछ । जसमध्ये एनएमबि बैंक लिमिटेड, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एभरेष्ट बैंक तथा अन्य वित्तीय संस्थाहरूबाट ५ अर्ब २५ करोड रूपैयाँ ऋण लगानी हुनेछ । आयोजनामा एनएमबि बैंक अगुवा बैंकको रूपमा रहनेछ ।
त्यसैगरी, चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको लागत करिब ४३ करोड ४० लाख रूपैयाँ अनुमान गरिएको छ ।
आयोजनामा एनएमबि बैंकले एकल रूपमा ३४ करोड रूपैयाँको ऋण लगानी गर्ने जनाएको छ ।
दुवै आयोजनाको ऋण सम्झौतामा एनएमबि बैंकका चिफ, सस्टेनेबल इनर्जी बैंकिङ्ग दिनेश दुलाल र डायनामिक हाइड्रो इनर्जीका अध्यक्ष मोहन बिक्रम कार्कीले हस्ताक्षर गरेका छन् । सम्झौता आदान–प्रदान कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले जलविद्युत आयोजनाको प्राविधिक, वातावरणीय तथा जोखिम मूल्याङ्कनमा बैंकले विशेष ध्यान दिने बताए ।