२२ कार्तिक, काठमाडाैं । दशैंपछिको अर्को ठूलो चाड हो, तिहार । तिहार भन्ने बित्तिकै झिलिमिली बत्तीको चाड भन्ने पनि बुझिन्छ । माटाका पाला, विद्युतीय बत्ती, पटका आदि तिहारका विशेषता हुन् ।
तिहारमा नेपालीहरूले सबैभन्दा बढी विद्युतीय बत्ती प्रयोग गर्छन् । तिहारको बेला घर–पसल सजाउन झिलिमिली बत्ती बढी प्रयोग हुन्छ । उज्यालोको चाड तिहारको आगमनसँगै झिलिमिली बत्तिको चर्चा हुने गर्छ ।
पहिले–पहिले माटोको दियो बालेर तिहारमा झिलिमिली बनाइन्थ्यो । तर, हिजो आज विद्युतीय बत्तिबाट झिलिमिली बनाउने गरिन्छ । तर, तिहारमा प्रयोग गरिने झिलिमिली बत्ती बाहिरबाट आयात गर्नु पर्ने बाध्यता छ ।
तिहारकै लागि भनेर विभिन्न खालका दियो, मालाबत्ती लगायत वर्षेनी करोडौं रुपैयाँको विद्युतीय झिलिमिली बत्ती विदेशबाट आयात हुने गरेको नेपाल विद्युतीय व्यवसायी महासंघले जानकारी दिएकाे छ । विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले यस वर्षको तिहारमा पनि करिब ४५ करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको बताए ।
उनले भने, ‘यस वर्ष चाडपर्वका लागि भनेर लगभग ४० देखि ४५ करोड रुपैयाँ बराबरको बत्ती आयात भएको छ ।’ भन्सार विभागको तथ्यांक हेर्ने हो भने चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा ४३ करोड भन्दा बढीको झिलिमिली बत्ती आयात भएको देखिन्छ ।
उनका अनुसार विशेषगरी तिहारमा लक्ष्मीपुजाको दिनसम्म झिलिमिली बत्तीको व्यापार हुने गर्छ । यस वर्ष कात्तिक २६ गते लक्ष्मीपुजा रहेको छ । यसको पाँच/छ दिन अघिदेखि नै व्यापार बढ्ने गर्छ ।
तर, आर्थिक मन्दीका कारण यस वर्षको तिहारमा झिलिमिली बत्तीको व्यापार धेरै नहुने देखिन्छ । बजारको माग भन्दा बढी झिलिमिली बत्ती आयात भएको अध्यक्ष देवकोटाले स्वीकारे । उनले आर्थिक न्युजसँग भने, ‘यसपालि बजारमा झिलिमिली बत्तीको माग नै त्यति छैन । आर्थिक मन्दीको समय पनि छ । सामान पनि महँगिएर आएको छ । आयात भएको जति सबै सामान बिक्री नहोला जस्तो छ ।’
एउटै झिलिमिली बत्तीमा २५ रुपैयाँसम्म मूल्यवृद्धि भएको उनले जानकारी दिए । ‘सानो एउटा झिलिमिली बत्तीमै २५ रुपैयाँसम्म मूल्य बढेर आएको छ । प्रतिस्पर्धाको जमाना छ, व्यापारीहरूले घाटा खाएर बिक्री गरे भने केही बिक्री होला नत्र धेरै बिक्री हुँदैन’, उनले भने ।
गत वर्ष ३६ करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको थियो । गत वर्षको तुलनामा यसवर्ष करिब १० करोड बढीको आयात भएको छ । ‘गत वर्ष सबैजसो बिक्री भएको थियो । तर, यस वर्ष माग घट्यो, आयात बढ्यो’, उनले भने ।
चाडपर्वका लागि विशेषगरी चीन र भारतबाट बत्तीको आयात हुने गरेको उनले जानकारी दिए । उनले भने, ‘९० प्रतिशत बत्ती चीनबाट आयात हुन्छ । केही मात्रामा भारतबाट पनि आयात हुने गरेको छ ।’
करोडौंको झिलिमिली बत्ती खपत भएपनि नेपालमा भने यसको उत्पादनबारे कुनै योजना भने छैन । बाहिरबाट आयात गर्नु पर्ने बाध्यता हटाउन सकिँदैन भन्ने प्रश्नमा उनी भन्छन्, ‘झिलिमिली बत्ती सबै आयातमै निर्भर हो । नेपाली बजार सानो छ । त्यसले गर्दा पनि व्यवसायीहरूले यसको उत्पादनमा इच्छा नदेखाएका हुन् ।’