२१ कार्तिक, काठमाडाैं । नेपाल धितोपत्र बोर्डले मार्जिन सेवाको लागि छुट्टै नियमावली बनाउने भएको छ। अहिले भएको मार्जिन सेवा सम्बन्धी नियम अपर्याप्त रहेको भन्दै उसले नयाँ नियमावली नै बनाउन लागेको हो। “हामीले मार्जिन सेवाको लागि छुट्टै नियमावली बनाउँदै छौ” नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले मेरो लगानीसँग भने।
यस अघि मार्जिन सेवा कार्यविधिले दिएको आधार प्रयोग गरी सेवालाई कार्यान्वयनमा लगिएको थियो। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सो कार्यविधि बनाएको थियो। धितोपत्र बोर्डकै आग्रहमा नेप्सेले सो कार्यविधि बनाएको थियो। “हामीले अहिले कार्यविधि भित्र रहेर मार्जिन सेवाको लागि अनुमति दिँदै आएका छौ। नेपाल स्टक एक्सचेन्ज लिमिटेड मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ नेपाल धितोपत्र बोर्डकै आग्रहमा हामीले नै बनाएको हो” नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले मेरो लगानीसँग भने।
अहिले उक्त कार्यविधि भित्र रहेर ३२ ब्रोकर कम्पनीले सेवा दिने भन्दै नेप्सेबाट अनुमति लिएका छन्। तर अनुमति लिने कुनै पनि ब्रोकर कम्पनीले अहिलेसम्म सेवा भने दिएका छैनन्। केहीले बीचमा आंशिक रुपमा सेवा दिए पनि उनीहरूले निरन्तरता भने दिएका छैनन्। सबैजसोले लाइसेन्स नवीकरण गर्दै बसेका छन्।
मार्जिन सेवाका लागि ब्रोकर कम्पनीहरूले केही सर्तहरू अघि सार्दै आएका छन्। उनीहरूका सर्तहरू मध्ये लगानीकर्ताले मार्जिन कारोबार गर्दा किनेको शेयर पुनः धितो राखी ऋण लिन पाउनु पर्ने प्रमुख सर्त रहँदै आएको छ। जसलाई धितोपत्र बोर्ड र नेप्से दुवैले इन्टरटेन गरेका छैनन्।
मार्जिन सेवाको लागि निक्कै लामो समयदेखि बाटो खुला गरिएको भएपनि त्यसको प्रभावकारिता असाध्यै न्यून भएको धितोपत्र बोर्डको निष्कर्ष छ। नेपाल स्टक एक्सचेन्जले मार्जिन सेवालाई प्रभावकारी ढङ्गले कार्यान्वयनमा लैजान नसकेको निष्कर्ष निकाल्दै बोर्डले नै त्यसलाई प्रभावकारी बनाउन भन्दै अग्रसरता लिन लागेको जनाएको छ। जुन नियमावली बनेपछि ब्रोकर कम्पनीले राखेका र नयाँ विषय समेत त्यसमा समावेश गर्ने योजनामा रहेको बताइएको छ।
दोस्रो बजारलाई नेपाल राष्ट्र बैंकले लिने नीतिगत निर्णयहरुले प्रत्यक्ष प्रभाव पार्ने गर्छ। उता ब्याजदरमा हुने उतार चढावले समेत दोस्रो बजारलाई प्रभाव पार्दै आइरहेको छ। विश्व बजारमा ब्याजदरले शेयर बजारलाई आंशिक रूपले प्रभाव पार्ने भएपनि त्यसको पुरै प्रभाव भने दोस्रो बजारमा पर्दैन। किनकि विश्व बजारमा शेयरमा ऋण ब्रोकर कम्पनी मार्फत नै प्रवाह हुने गर्छ। त्यही अवस्थामा नेपालको बजारलाई पनि पुर्याउने बोर्डको पहल हो। बैंक वित्तीय संस्था भन्दा पनि ब्रोकर कम्पनी बाटै शेयर ऋण प्रवाह गराउनको लागि पनि नियमावली आवश्यक रहेको भन्दै बोर्डले नियमावली बनाउन लागेको जनाएको छ।
हुन त ब्रोकर बाटै मार्जिन सेवा प्रवाह होस् भन्ने उद्देश्यले यस अघि नै बोर्डले मार्जिन सेवा उपलब्ध गराउने कम्पनीको पूँजी वृद्धि गरिसकेको छ। तर शेयर ऋणको माग असाध्यै धेरै हुने र सीमित स्रोत लिएर बसेका ब्रोकरबाट मात्रै नेपालको बजारलाई पुग्ने स्रोत नहुने भएकोले त्यसका लागि पनि नियमावलीले वैकल्पिक बाटो दिने गरी व्यवस्था गर्ने बताइएको छ।
उता नेपाल राष्ट्र बैंकले समेत मार्जिन सेवा ब्रोकर मार्फत नै होस् भन्ने चाहेको छ। सोही कारण पनि उसले शेयर बजारमा जाने ऋणलाई लगातार टाइट गर्दै लगेको छ। जसले गर्दा पनि शेयर बजारमा प्रेसर पर्दै गइरहेको छ। वैकल्पिक व्यवस्था नहुँदै शेयरमा जाने ऋणलाई केन्द्रीय बैंकले टाइट गरिदिएको अवस्थाले गर्दा पनि ब्रोकर कम्पनीलाई जसरी पनि मार्जिन सेवाको लागि योग्य बनाउनु धितोपत्र बोर्डको दायित्व हुन आउने भएकोले पनि बोर्डले त्यस विषयमा अग्रसरता लिएको जनाएको छ।