Business Share Market 

सिमेन्ट कम्पनीका सेयरमा उच्च वृद्धि

०६ साउन, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से २.७९ प्रतिशत बढ्दा उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ४.६३ प्रतिशत बढ्यो । उत्पादन तथा प्रशोधन समूहमा १० कम्पनी सूचीकृत छन् । जसमा ४ वटा सिमेन्ट कम्पनी छन् ।

मंगलबार सिमेन्ट कम्पनीकै सेयरमा एकाएक आकर्षण देखियो । जसले गर्दा समग्र उत्पादन समूहमा उच्च वृद्धि देखियो । सिमेन्ट कम्पनीबाहेक यस समूहका केही कम्पनीको मूल्य घटेको पनि छ ।

शिवम् सिमेन्टको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेको मूल्यमा पनि कतिपयले खरिद गर्न पाएनन् । त्यस्तै सोनापुर सिमेन्टको ९.०८, सर्वोत्तमको ७.५२ र घोराहीको ५.४३ प्रतिशत बढ्यो ।

एकाएक सिमेन्ट कम्पनीको सेयरमा आकर्षण बढ्नुको प्रमुख कारण चौथो त्रैमासिक वित्तीय विवरण सकारात्मक आउने अपेक्षा रहेको जानकार बताउँछन् ।

विगत केही वर्ष नै कमजोर वित्तीय विवरण आउँदा सिमेन्ट कम्पनीको सेयर मूल्य बढ्न सकेको थिएन । पछिल्लो समय निर्माण क्षेत्र सल्बलाएको तथ्यांक छ ।

तथ्यांक कार्यालयका अनुसार गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अर्थतन्त्रका सबै क्षेत्र धनात्मक छन् । निर्माण क्षेत्र ६.९ प्रतिशत बढेको कार्यालयको तथ्यांक छ । यसले गर्दा सिमेन्ट कम्पनीप्रति कारोबारी आशावादी देखिएका छन् ।

मागमा आएको कमीले सिमेन्टको बिक्री आम्दानी नै घटेपछि वित्तीय विवरण कमजोर देखिँदै आएको थियो । तर पछिल्लो समय निर्माण क्षेत्र सल्बलाएपछि बिक्री आम्दानीमा सुधार आउने अपेक्षा गरिएको नेपाल धितोपत्र लगानीकर्ता संघका महासचिव प्रकाश रजौरे बताउँछन् ।

‘आर्थिक वर्ष सकिँदा पूँजीगत खर्च ह्वात्तै बढ्ने र त्यसको प्रभावि सिमेन्ट कम्पनीको विवरणमा पनि देखिन जान्छ’ उनले भने ‘निर्माण क्षेत्र सल्बलाएका तथ्यांक आएका छन्, अर्कोतर्फ सडक निर्माणका क्रममा ढलानलाई पनि प्राथमिकता दिने बजेटमा उल्लेख छ।’

Related posts

Leave a Comment