ट्रेड टावरले जेठ १४ गतेदेखि आईपीओ निष्काशन गर्ने
०५ जेेठ, काठमाडौँ । ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि प्राथमिक साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेको थियो । कम्पनीले वैदेशिक रोजगारीमा रहेकाको लागि निष्काशन गरेको आईपीओ बाँडफाँडपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
जसमध्ये श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ लाख ९७ हजार १६९.३० कित्ता, सामूहिक लगानी कोषहरुका लागि १ लाख ९८ हजार ५८४.६५ कित्ता र कर्मचारीहरुका लागि ७९ हजार ४३३.८६ कित्ता शेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ।
अब कम्पनीले बाँकी रहेको ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । उक्त आइपीओमा जेठ १९ गतेसम्म आवेदन दिन सकिने छ उक्त अवधिभित्र सम्पूर्ण कित्ता बिक्री नभएमा भने निष्काशन अवधि जेठ २८ गतेसम्म लम्बिनेछ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।