हरेक वर्ष सुनमा लगानी बढाउँदै राष्ट्र बैंक
३० जेठ, काठमाडौँ । पछिल्लो समय संसारभरका केन्द्रीय बैंकहरूले सुनमा लगानी गर्ने क्रम बढेको छ । नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले पनि सुनमा लगानी बढाउँदै लगेको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार सन् २०२२/२३ देखि सुनमा लगानी गर्ने क्रम तीव्र गतिमा बढेको देखिन्छ । चालु आर्थिक वर्ष सन् २०२४/२५ को १० महिनामा राष्ट्र बैंकले ३० अर्ब ७६ करोड ९७ लाख रुपैयाँ सुनमा लगानी गरेको छ ।
जबकि गत आव २०२३/२४ को सोही अवधिमा नेपालले १५ अर्ब ४१ करोड रुपैयाँ सुनमा लगानी गरेको थियो । आव २०२२/२३ को सोही अवधिमा ७ अर्ब ८६ करोड ७५ लाख रुपैयाँ मात्र सुनमा लगानी भएको देखिन्छ ।
सुनलाई सुरक्षित लगानीका रूपमा लिइने भएकाले विश्वभरका केन्द्रीय बैंकले सुन किनेर थुपार्ने गरेका छन् । विश्वका हरेक केन्द्रीय बैंकले सुरक्षाका लागि सुन भण्डारण गर्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मानिकरत्न शाक्य बताउँछन् ।
नेपालको केन्द्रीय बैंकले पनि अन्य क्षेत्रमा भन्दा सुनमा सुरक्षित हुने हुँदा सुनमा लगानी गर्ने उनको भनाइ छ ।
पछिल्लो समय विश्व बजारमा आएको उतारचढाव, अमेरिकी राष्ट्रपतिको नयाँ कर नीति, रुस–युक्रेन युद्धलगायत विभिन्न घटनाक्रमले विश्व बजारमै सुनमा लगानी गर्ने क्रम बढेको छ ।
विभिन्न अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमले अन्तर्राष्ट्रिय मुद्राको विनिमय दरमा उतारचढाव आउने गर्छ । यस्तो अवस्थामा सुनलाई नै सुरक्षित र भरपर्दो सम्पत्तिका रूपमा लिइन्छ ।
अमेरिकी नयाँ कर नीतिले विश्व बजार तरंगित बनाउँदा विश्वभरि नै सुनमा लगानी गर्ने क्रम तीव्र भएको छ । त्यसैले नेपाल राष्ट्र बैंकले पनि सुनमा लगानी गर्ने क्रम बढाएको शाक्यको भनाइ छ ।
कुनै पनि देशका नोट, मुद्रा वा अन्य सम्पत्तिलाई अरू देशले मान्यता नदिने, तर सुनलाई सबैले साझा सम्पत्तिका रूपमा लिने भएकाले सुनको लगानी सबैभन्दा सुरक्षित मानिन्छ ।
अहिले विश्वका विभिन्न देशमा आर्थिक मन्दी देखिएकाले अन्य क्षेत्रमा भन्दा सुनमा लगानी गर्नेहरू बढेका छन् । जसका कारण सुनको माग एकदमै बढेको छ भने माग बढेकै कारण मूल्यमा पनि भारी वृद्धि भइरहेको छ ।
नेपालमा व्यवसायीहरूले सुनमा लगानीको विषय व्यवस्थित गर्न माग गर्दै आएको लामो समय भइसकेको छ । ‘कानुनी प्रबन्ध गरेर सुनमा लगानी गर्ने प्रावधान आउने हो भने लगानीकर्ताले कमाइ गर्ने ठाउँ हुन्छ भने सरकारले पनि आम्दानी गर्न सक्छ,’ उनी भन्छन् ।