Business ipo Share Market 

सान्भि इनर्जीको आइपीओमा आजदेखि आवेदन दिन सकिने

०९ जेठ, काठमाडौँ । सान्भि इनर्जी लिमिटेडको आईपीओमा आजदेखि सर्वसधारणले आवेदन दिन पाउने भएका छन् । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेको थियो ।

स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बाँडफाँडपश्चात कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

यस अघि कम्पनीले ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका र २ करोड ९१ लाख रुपैयाँ बराबरको २ लाख ९१ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो।

त्यसैगरी, कम्पनीले १ लाख ४५ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ५८ हजार २०० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि बाँडफाँड गरेको थियो ।

कम्पनीले निष्काशन गरेको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आइपीओमा जेठ १३ गतेसम्म आवेदन दिन सकिने छ । उक्त समयसम्म सम्पूर्ण कित्ता बिक्री नभएमा भने निष्काशन अवधि जेठ २३ गतेसम्म लम्बिने छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्गस् नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

Related posts

Leave a Comment