Banking Business 

माउन्टेन इनर्जीको खुद नाफा ५०.४५ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

२६ वैशाख, काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ५०.४५ प्रतिशतले बढेको छ ।

तेस्रो त्रैमासको अवधिमा कम्पनीले ४६ करोड ५० लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३० करोड ९१ लाख रुपैयाँ थियो ।

यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ९२ करोड २७ लाख ६६ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ६.०५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ८७ करोड १ लाख रुपैयाँ थियो ।

यस अवधिमा कम्पनीले बीमा दाबी भुक्तानी अन्तर्गत ८ करोड ५६ लाख रुपैयाँ प्राप्त गरेको छ । साथै कम्पनीको ब्याज खर्च २० करोड ७८ लाखबाट घटेर १८ करोड १७ लाख कायम भएको छ । विद्युत बिक्रीको आम्दानी बढेको, बीमा दाबी भुक्तानीको रकम पाएको र ब्याज खर्च पनि घटेको लगायतका कारणले कम्पनीको खुद नाफा बढेको हो ।

यस अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख रहेको छ भने रिटेन अर्निंगमा १ अर्ब १९ करोड रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १७.८७ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १४५ रुपैयाँ ८७ पैसा रहेको छ ।

Related posts

Leave a Comment