सिटिजन्स बैंक र म्यानेजमेन्ट एशोसिएशन अफ नेपाल बीच सम्झौता
२५ वैशाख, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र म्यानेजमेन्ट एशोसिएशन अफ नेपाल (म्यान) बीच संयुक्त रूपमा ‘म्यान–सिटिजन्स अस्पायरिङ म्यानेजर अवार्ड’ स्थापना गर्ने सहमति भएको छ । यो अवार्ड व्यवस्थापन संकाय अन्तर्गत एम.बि.ए. मा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्ने र प्रोत्साहन दिने उद्देश्यले ल्याइएको हो ।
आज बैशाख २५ गते, म्यानको कार्यालयमा आयोजित कार्यक्रममा सो सहमति पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र म्यानका अध्यक्ष मोहन राज ओझाले हस्ताक्षर गरे ।
पुरस्कार पुर्वाञ्चल युनिभर्सिटी अन्तर्गत एम.बि.ए. मा उत्कृष्टता प्रदर्शन गर्ने प्रतिभाशाली विद्यार्थीलाई हरेक वर्ष प्रदान गरिनेछ । पुरस्कारको राशी ५१ हजार रुपैयाँ तोकिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड यस अवार्डको प्रायोजक हुनेछ र वार्षिक रूपमा आवश्यक रकम उपलब्ध गराउनेछ ।
उत्कृष्ट विद्यार्थीको चयनका लागि सिटिजन्स बैंक, पुर्वाञ्चल युनिभर्सिटी र म्यानेजमेन्ट एशोसिएशन अफ नेपालका प्रतिनिधिहरू सम्मिलित समिति गठन गरिनेछ । पुरस्कार हरेक वर्ष माघ महिनामा म्यानद्वारा आयोजित म्यानेजमेन्ट कन्भेन्सनको अवसरमा प्रदान गरिनेछ ।
सिटिजन्स बैंकले विश्वास लिएको छ कि यस कदमले नेपालको म्यानेजमेन्ट शिक्षा क्षेत्रमा सकारात्मक योगदान पुर्याउनेछ ।