झनै घट्यो निक्षेपको ब्याजदर, कुन बैंकको कति पुग्यो ?
३१ वैशाख, काठमाडौँ । वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर झनै सस्तो भएको छ । जेठ महिनाका लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको ब्याजदर झनै घटेको हो ।
जेठ महिनामा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरको औषत ५.९५२ प्रतिशत विन्दुमा झरेको छ । गत बैशाखमा यस्तो ब्याजदर ५.९७९५ प्रतिशत विन्दु थियो ।
बैशाखको तुलनामा जेठमा बैंकहरुको यस्तो ब्याजदर ०.०२७५ प्रतिशत विन्दु घटेको हो ।
जेठ महिनामा २० वाणिज्य बैंकहरुमध्ये तीन वटा बैंकहरुले ब्याजदर बढाउँदा अरु तीन वटा बैंकले घटाएका छन् । १४ बैंकले भने बैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
जेठ महिनाका लागि ब्याजदर घटाएका बैंकहरुमध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सबैभन्दा बढी (१ प्रतिशतविन्दु) ब्याजदर घटाएको छ ।
बैशाख महिनामा ६.५ प्रतिशत रहेको यस बैंकको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर, जेडमा ५.५ प्रतिशतमा झरेको छ ।
त्यस्तै, सिद्धार्थ बैकले यस्तो निक्षेपको अधिकतम ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएको छ ।
कुमारी बैंकले जेठ महिनाका लागि ब्याजदर ०.०१ प्रतिशतविन्दु घटाएको छ ।
जेठ महिनामा सानिमा बैंक, नेपाल बैंक र एभरेष्ट बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाएका छन् । जसमध्ये सानिमा बैंकले सबैभन्दा बढी ०.३८ प्रतिशतविन्दु बढाएको छ ।
जसअनुसार एभरेष्ट बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.६४ प्रतिशत छ । बैशाखमा एभरेष्टको व्यक्तिगत मुद्दती निक्षेपमा ६.६१ प्रतिशत ब्याजदर छ । यस्तै एनआईसी एसिया बैंकको व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ६.६ प्रतिशत छ । वैशाखमा पनि यस बैंकको ब्याजदर ६.६ प्रतिशत थियो ।
वाणिज्य बैंकहरूले छोटो अवधिको व्यक्तिगत मुद्दती निक्षेपलाई ब्याजदर घटाएर निरुत्साहित गर्ने रणनीति बनाएका छन् ।
बैंकरहरूले अहिले ब्याजदर तत्काल बढाउने अवस्थामा नरहेको बताउँदै आएका छन् । कर्जा पनि अपेक्षित गतिमा बढ्न नसकेको अवस्थामा ब्याजदर बढाइहाल्ने परिस्थिति अझै केही समय नहुने उनीहरूको भनाइ छ ।
राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिने ब्याजदर र संस्थागत निक्षेपमा दिने ब्याजदरको अन्तर न्यूनतम १ प्रतिशत विन्दु हुनुपर्ने व्यवस्था गरेको छ ।
बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएपछि त्यसकै आधारमा बचत, कल निक्षेपसँगै संस्थागत निक्षेपको ब्याजदर घटाउन सक्नेछन् ।
